नेपाल नेत्रज्योति संघ स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा प्रकाशित ज्योति स्मारिका –२०८०

<?php the_title(); ?>

प्रकाशकीय

‘अरु कुरा सबैथोक भएकै राम्रो, दृष्टि गुम्नु बहुतै नराम्रो’ दृष्टि गुमाएर संसार हेर्नबाट वञ्चित भएकाहरुले हाम्रो गाउँघरमा आएर आफ्नो कलामार्फत जीवनको व्यथा सुनाएको देख्दा हामी सबैलाई ‘आँखा’ मानव शरीरको कति महत्वपूर्ण अङ्ग रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । निश्चय पनि आँखा शरीरको अभिन्न अङ्ग हो । यो अभिन्न अङ्ग जोगाउन जागरण र उपचार दुवैको आवश्यकता पर्छ । नेपाल नेत्रज्योति संघ आँखाको जोगावटका लागि विभिन्न सचेतनामूलक कार्यक्रममार्फत जागरण ल्याउने र आँखा अस्पताल तथा उपचार केन्द्रमार्फत रोग लागिसकेका व्यक्तिहरुको आँखाको ज्योति फर्काउन प्रयत्न गर्ने निकाय हो । पहिलो कुरा त आँखाको ज्योति गुम्न नदिनका लागि आँखा संरक्षणका उपायहरुको जानकारी हुनु जरुरी छ । दोस्रो विषय आँखामा समस्या आइहाले शीघ्र रूपमा उपचारको पहुँचमा पुग्नु अनिवार्य रहेको छ । त्यही आवश्यकताकालाई महसुस गरी २०५५ सालमा ताप्लेजुङमा नेत्रज्योति संघको स्थापना र नेत्रज्योति संघमार्फत डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । यी दुवै निकाय सञ्चालनमा आउन धेरै सामाजिक अगुवाहरुको योगदान छ । उहाँहरुको त्यो योगदानप्रति उच्च सम्मान छ । यदि नेत्रज्योति संघ र डिचेन डोङ्गलाको सेवा प्रारम्भ नहुँदो हो त अहिले पनि ताप्लेजुङ आँखा स्वास्थ्य क्षेत्रमा आफैँ ‘दृष्टि विहीन हुन्थ्यो’ होला । अहिले त्यो अवस्था छैन । यसको अर्थ आँखाका रोगीहरु हुनुहुन्न भन्न खोजेको होइन । रोगीहरु हुनुहुन्छ तर उहाँहरु उपचारको पहुँचमा आउन सक्ने वातावरण तयार छ । यस्तै आँखा जोगाउन के गर्ने भन्ने जानकारी पनि नेत्रज्योति तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमार्फत भइरहेको छ । यो नेत्रज्योति संघ र आँखा उपचार केन्द्र सुरु भएपछिको प्रतिफल हो । नेत्रज्योति संघ ताप्लेजुङमार्फत ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रमा पुगेर आँखाका प्राविधिकहरुले आँखाको परीक्षण गर्ने, आँखाका समस्या पहिचान गर्ने, उपचारको पहुँच बनाइदिने र आँखा जोगाउने तौरतरिका बारे जानकारी गराउने कार्य हुने गरेका छन् । यसले आँखाको ज्योति संरक्षण र पुनर्दृष्टि प्राप्तिमा महत्वपूर्ण योगदान मिलेको छ । नेत्रज्योति संघ ताप्लेजुङ आफ्ना उपचार सेवालाई ग्रामीण तहसम्म फैलाउने कार्यको समन्वयकर्ता समेत भएको छ । ताप्लेजुङ जिल्ला नेत्रज्योति संघ ताप्लेजुङको कार्यक्षेत्र भएपनि आँखा उपचार सेवालाई पाँचथरसम्म विस्तार गर्दै लगिएको छ । यही क्रममा पाँचथरका याङ्वरक र कुम्मायक गाउँपालिकामा दुईवटा उपचार केन्द्र सञ्चालनमा छन् । सदरमुकाम फुङलिङमा रहेको डिचेन डोङ्गला आँखा उपचार केन्द्रलाई मुख्य केन्द्र ठानेर ताप्लेजुङका आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाको केन्द्र दोभान बजारमा अर्को आँखा उपचार केन्द्र समेत सुरु भएको छ । नेत्रज्योति संघ ताप्लेजुङले आफ्नो कार्यक्षेत्र मात्र बढाएको छैन, सेवाग्राहीलाई नजिकबाटै सेवा दिने गरी आफ्नो सेवा विकेन्द्रित पनि गरेको छ । आँखा उपचार सेवालाई विस्तार गर्ने, सेवाग्राहीका घरदैलोबाटै सेवा प्रदान गर्ने कार्य पनि आँखा स्वास्थ्य क्षेत्रमा जागरण ल्याउने मुख्य कार्य हुन् । यी कार्यले आँखा स्वास्थ्य सेवामा विस्तार मात्र गरेको छैन, आँखा जोगावटका लागि उल्लेखनीय भूमिका समेत निर्वाह गरेको छ । ताप्लेजुङमा आँखा स्वास्थ्य सेवा आरम्भ गरेको २५ वर्ष पूरा भएको छ । यो २५ वर्षको अवधिमा आँखा जोगावटका लागि भएका गतिविधि र कार्यहरु हामी सबैको साझा प्रयत्नबाट सम्भव भएको हो । यसलाई थप प्रभावकारी र अझ बढी क्षेत्रमा विस्तार गर्न जरुरी छ । त्यसका लागि नेपाल नेत्रज्योति संघ ताप्लेजुङले समन्वयका लागि सबै निकाय र पक्षसँग हातेमालो गर्ने नै छ ।

आँखा स्वास्थ्य क्षेत्रमा हाम्रो जन्म कसरी भयो ? आँखाको ज्योति बचाउने कसरी ? हामीले यो अवधिमा के ग¥यौँ ? आँखाको ज्योति फर्कँदा मानिसमा कस्तो उल्लास छाउने रहेछ ? सेवा प्रारम्भ हुँदाका दुःख कस्ता थिए ? अब हामी के गर्न चाहन्छौँ ? जस्ता विषयहरु अहिले आम चासोको विषय छ र हुन्छ पनि । यी र यस्ता विषय जानकारी गराउन र हामीले आँखा स्वास्थ्य क्षेत्रमा अब के गर्न सकिएला भनेर साझेदार र सहकार्य भएक निकायहरुमार्फत पृष्ठपोषण समेत लिने उद्देश्यले हामीले यो स्मारिका प्रकाशन गर्ने ध्येय राखेका हौँ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले रजत महोत्सव मनाउँदै गर्दा स्मारिका प्रकाशन गरी हामीले प्रदान गरेका सेवाका गतिविधिलाई संस्थागत गरी दस्तावेज बनाउने प्रयत्न पनि हो । यो स्मारिकाले ताप्लेजुङमा आँखा स्वास्थ्य क्षेत्रका आयामहरु समेत पहिल्याउन हामीलाई सजिलो बनाएको महसुस भएको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा स्मारिका प्रकाशन गर्ने जमर्को गरेर जिम्मेवारी प्रदान गर्नुहुने व्यत्तित्वहरूप्रति आभार व्यक्त गर्दछौँ । तपाईँ हाम्रो सामूहिक प्रयासले आँखा स्वास्थ्य क्षेत्रलाई नमूना बनाउन सकियो भने हाम्रो उद्देश्य पनि पूरा हुन्छ । यो उद्देश्य पूरा गर्नका लागि अहिलेसम्म हामीसँग सहकार्य गर्नुहुने निकाय तथा व्यक्तिहरूप्रति नमन् छ । हामीलाई कामका लागि हौसला प्रदान गर्ने सबै महानुभावहरुलाई बिर्सने कुरै भएन । हामी सबै प्रतिबद्ध भएर ताप्लेजुङको आँखा स्वास्थ्य क्षेत्रलाई मुलुककै गर्व गर्न लायक स्थलको रूपमा विकास गरौँ, यसका लागि हामी सबैले समन्वय, सम्वाद र सहकार्य गर्नुपर्छ । अन्त्यमा, स्मारिका ताप्लेजुङको आँखा स्वास्थ्य क्षेत्रका विविध आयाम बताउने एक दस्तावेज बन्ने विश्वास समेत प्रकट गर्दछौँ । छोटो अवधिमै स्मारिका प्रकाशनको कार्य अघि बढेको हुँदा कतिपय त्रुटिहरु अवश्य पनि छन् । ती त्रुटिप्रति क्षमायाचना गर्दछौँ । आँखा जोगाऔँ, दृष्टिविहीन हुनबाट बचौँ र बचाऔँ ।

नेपाल नेत्रज्योति संघ स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा प्रकाशित ज्योति स्मारिका –२०८०

 


Leave a Reply